राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

काठमाडौं । सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गरेकी छिन् । करिब ३८ वर्ष अघि सप्तरीको राजविराजमा स्थापना भएको औद्योगिक क्षेत्र हालसम्म पनि सञ्चालनमा आउन नसकेकामा उनले गुनासो गरेकी हुन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद झाले आवश्यक साधन र स्रोतको प्रबन्ध गरेर सो औद्योगिक क्षेत्र सञ्चालन गर्न तथा आर्थिक विकासको मार्गमा स्थानीयवासीलाई केन्द्रित गर्न सरकारसँग माग गरिन् ।
सांसद अब्दुल खानले झन्डै दुई महिनादेखि विभिन्न माग राख्दै आन्दोलनरत पिछडा वर्गलाई वार्तामा बोलाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले चामल नभई धान आयात गर्नुपर्ने, इँटा उद्योगलाई कानुनी दायरामा ल्याउन तथा बिमाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामप्रकाश चौधरीले तराईका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरी हुँदा किसान मर्कामा परेको विषय संसदमा उठाए ।