Ad Image

नाइजरमा बम विस्फोट हुदाँ सुन खानीका आठ जना मजदुरको मृत्यु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747142452.jpg

एजेन्सी । नाइजरको पश्चिमी क्षेत्र तिलाबेरीमा भएको एक विष्फोटक घटनामा परी सुन खानीमा कार्यरत आठ जना मजदुरको दुःखद निधन भएको छ । स्थानीय स्रोतहरूले दिएको जानकारीअनुसार, उनीहरू सवार सवारी साधन बारुदमा परेपछि विस्फोट भएको हो ।


उक्त घटना शुक्रबार भएको जनाइएको छ । मजदुरहरू राजधानी नियामे फर्किन सैन्य सुरक्षा सहयोगमा यात्रा गरिरहेका बेला दुर्घटना भएको हो । स्थानीय बासिन्दा अमदौ अरूना माईगाले बताए अनुसार, “उनीहरू चढेको मिनिबस बारुदमा परेपछि विस्फोट भएको थियो, जसले आठ जनाको ज्यान लिएको छ। उहाँहरूलाई आइतबार सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ ।”

 

स्वतन्त्र दैनिक पत्रिका ल एन्केत्यरले उक्त घटनामा १० भन्दा बढीको मृत्यु भएको उल्लेख गरेको छ ।

 

समिरा सुन खानी सन् २००४ देखि सञ्चालनमा रहेको देशको एक मात्र औद्योगिक स्तरको सुन खानी हो, जहाँ ‘सोसिएते दे मिन दु लिप्ताका’ (एसएमएल) नामक कम्पनीद्वारा खनन कार्य हुँदै आएको छ । तिलाबेरी क्षेत्र इस्लामिक राज्य र अलकायदासँग सम्बन्धित सशस्त्र समूहहरूको गतिविधिका कारण जोखिमयुक्त क्षेत्र मानिन्छ ।
 

नाइजर सरकारले यस क्षेत्रमा सुरक्षाका लागि दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाएको भए तापनि, हिंसात्मक गतिविधि अझै पनि जारी रहेको देखिन्छ । मे सन् २०२३ मा यस्तै प्रकारको विस्फोटमा सात जना सुरक्षाकर्मीले ज्यान गुमाएका थिए। त्यसैगरी, जुन सन् २०२१ मा दुई जना चिनियाँ कर्मचारीहरू अपहरणमा परेका थिए, जसलाई नौ महिनापछि मात्र रिहा गरिएको थियो ।

 

सन् २०२३ मा सत्ता सम्हालेको सैनिक नेतृत्वले देशको सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । उक्त क्षेत्रको अवस्था बुझ्नका लागि सैनिक सरकार प्रमुख अब्दुरहमान तियानीले समिरा खानीको निरीक्षण गर्नुका साथै सुरक्षाकर्मीहरूसँग भेटघाट पनि गरेका थिए ।

 

पश्चिम नाइजरमा जारी हिंसात्मक गतिविधिको साथै, देशको दक्षिण–पूर्वी भागमा बोको हराम तथा इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रान्तजस्ता समूहहरूद्वारा हिंसा अझै जारी रहेको बताइएको छ ।