विपद्सँग जुध्न काठमाडौंका सबै स्थानीय तहको क्षमता अभिवृद्धि गरिने


काठमाडौं । विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वतयारी र प्रतिकार्यमा समन्वयको खाँचो औँल्याइएको छ । जिल्ला समन्वय समिति काठमाडौँले आज आयोजना गरेको ‘विपद् पूर्वतयारी छलफल तथा अन्तक्र्रिया’मा सहभागीले जनप्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवालाबीचको प्रभावकारी समन्वयबाट मात्रै विपद्को डटेर सामना गर्न सकिने बताए ।
विपद् पूर्वतयारीलाई चुस्त बनाउनुपर्ने, जनतामा विपद्सम्बन्धी सचेतना अभिवृद्धि र पूर्वसूचनाको पहुँच बढाउनुपर्ने, सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा उनीहरुको जोड थियो । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले विपद्को पूर्वतयारी र प्रतिकार्यमा सरोकारवालाको समन्वय आवश्यक रहेको उल्लेख गर्दै विपद्का समयमा स्थानीय जनप्रतिनिधि बढ्ता सजक हुनुपर्ने बताए ।
पूर्वतयारी र प्रतिकार्य योजना, विपद्सँग जुध्न आवश्यक स्रोतसाधनको अवस्थालगायत विषय बुझ्न आफूहरू काठमाडौँका सबै स्थानीय तहमा अनुमगनमा जाने तयारी गरिएको जानकारी दिँदै उनले स्थानीय तहको क्षमता अभिवृद्धिको लागि सहयोग गरिने बताए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विपद् पूर्वतयारी र समन्वयले क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने बताए । उनले विगतका अनुभवको समीक्षा गर्दै पूर्वतयारीका कार्य अघि बढाइएको जानकारी दिए ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले विपद् पूर्वतयारी र प्रतिकार्य विशेष योजनाअनुसार काम गरिरहेको उल्लेख गरे । “कीर्तिपुर नगरपालिका पूर्वतयारीको अवस्थामा छ, जिल्ला समन्वय समितिले आवश्यक सहजीकरण गर्नुपर्छ”, उनले भने । जिसस काठमाडौँका उपप्रमुख शान्ति पाण्डेले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र समन्वयमा जोड दिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले सीमित स्रोत साधनका बाबजुत पनि विपद्का समयमा सुरक्षा निकायले आमनागरिकको जीउधनको सुरक्षाका लागि काम गरिरहेको जनाउँदै प्रतिकार्यमा जुध्न अत्यावश्यक थप सामग्री उपलब्ध गराएको अवस्थामा विपद्सँग जुध्न सहज हुने बताए ।