अमेरिका र साउदी अरबबीच इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता


काठमाडौं । अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर बराबरको हतियार किनबेच सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यो सम्झौतालाई ’इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जारी गरेको तथ्यपत्र (फ्याक्ट सीट) मार्फत पछिल्लो सम्झौताबारे जानकारी दिइएको हो । हतियार दिएबापत साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर बराबर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्झौताअन्तर्गत साउदीलाई एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्मबाट अत्याधुनिक युद्ध उपकरण र सेवा प्रदान गरिने ह्वाइट हाउसले जनाएको छ । हतियार बिक्री सम्झौताकै लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका थिए ।
त्यहाँ उनले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । ट्रम्प यतिखेर साउदी अरब, कतार र यूएईमा चार दिवसीय भ्रमणमा निस्किएका छन् । दोस्रो कार्यकालमा ट्रम्पको यो पहिलो ठूलो कूटनीतिक यात्रा हो ।