३ घण्टापछि नियन्त्रणमा आयो मखनटोलको आगलागी


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखनटोलमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको हो ।
दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।
आगलागीमा परी एक जना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।