महानगरको हिसावकिताब : पोखरामा सबैभन्दा धेरै बेरुजु, दोस्रोमा वीरगञ्ज


काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु हुनेमा परेको छ भने पोखरा महानगरमा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा महानगरहरूको बेरुजुको अवस्था अनुसार विराटनगरको कम र पोखराको सबैभन्दा धेरै देखिएको हो ।
विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण भएको थियो । जसमध्ये २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ, जुन ०.३२ प्रतिशतमात्र हो ।
बेरुजु कम हुने दोस्रो महानगरमा ललितपुर परेको छ । ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख लेखा परीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ, जुन ०.५२ प्रतिशत हो । यस्तै चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको हो ।
देशकै ठूलो बजेट चलाउने स्थानीय तह काठमाडौं महानगरमा २.४७ प्रतिशत बेरुजु देखिएको छ । महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको हो ।
वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ । यस्तै पोखरा महानगरमा महानगरमध्ये सबैभन्दा धेरै बेरुजु देखिएको छ । यसको १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ३.७४ प्रतिशत हो ।