लखनउमा गुडिरहेकाे बसमा आगलागी, पाँच जनाको मृत्यु


एजेन्सी । लखनउको मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा चलिरहेको बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान करिब ५ बजे गुडिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जलेर ५ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला आगलागी भएको हो ।
आगोलागेको समयमा अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठूलो आगो निस्किएको थियो ।
बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएपछि धेरै यात्रु लडेका थिए।
वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको छ । भित्र पुग्दा ५ वटा जलेको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुले पछि मानिस भाग्न समस्या भएको थियो ।