Ad Image

आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई बालेनले बनाए भूमिकाविहीन, प्रवक्ताबाट मानन्धर आउट

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747364272.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ । 

 

यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए । अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।  

 

पछिल्लो समय बालेनका विभिन्न क्रियाकलापहरुप्रति खुला असहमति जनाएका वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिबाट हटाइएको हो । प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरीको अवरोध बाबजुद कार्यालय प्रवेश गराउन मानन्धरले मुख्य भूमिका खेलेका थिए । नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ । बालेनले आफ्नो विरोधमा उत्रिने र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिने वडाध्यक्षहरूलाई भूमिकाविहीन बनाएका हुन् ।