Ad Image

तीव्र गतिको कारले ठक्कर दिँदा मर्निङवाक हिँडेका दुई महिलाको मृत्यु, चालक पक्राउ

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747368099.jpg

रुपन्देही । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन् । 

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।
 
दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । 

 

‘७ जनाको परिवार लिएर कुल पूजामा गएर फर्किएको गाडी रहेछ, वसन्तपुरमा मर्निङवाकमा हिँडेका दुई महिलाले बाटो काट्ने क्रममा अलमलिएका कारण ठक्कर दिएको भन्ने छ, घटनामा दुई महिलाको मृत्यु भएको छ’ उनले भने ‘स्पिडमा आएको कार सडक पार गर्दै गरेका महिला बीच लेनमा पुगेर पुनः फर्केपछि यस्तो भएको भन्ने चालकको भनाइ छ, घटनाको अनुसन्धान गर्दैछौं, मृतकको शव तौलिहवा पठाइएको छ, चालक र गाडीलाई गोरुसिङ्गेमै राखिएको छ ।’
 

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालक मादक पदार्थ सेवन नगरेको पुष्टि भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।