अख्तियारका कर्मचारीलाई बाह्रबिसेका मेयरको चेतावनी, ‘काज फिर्ता नभए तलब रोकिन्छ’


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काजमा कार्यरत कर्मचारीलाई सात दिनभित्र पालिका फिर्ता हुन आग्रह गरेको छ । बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतले बिहीबार पालिकामा दरबन्दी भई अख्तियारमा काजमा कार्यरत अम्बिका दाहाल ओझालाई पत्र लेख्दै सात दिनभित्र काज फिर्ता हुन आग्रह गरेका हुन् ।
उनले सात दिनभित्र पालिकामा हाजिर नभए तलब–भत्ता रोक्ने चेतावनी समेत दिएका छन् । नगरपालिकाले ओझालाई लेखेको पत्रमा भनिएको छ, ‘काज खटाउँदा १ वर्षमा ३ महिनाभन्दा बढी अवधिका लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकाले सात दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब–भत्ता यस कर्यालयबाट भुक्तानी नहुने व्यहोरा समेत अनुरोध छ ।’
नगरपालिकामा महिला विकास निरीक्षकमा नियुक्त ओझा पाचौं तहको कर्मचारी हुन् । अहिले उनी काजमा अख्तियारमा कार्यरत छिन् । अन्य कार्यरत कर्मचारीलाई काज फिर्ताका लागि पत्र पठाउने काम संघीय मामिला मन्त्रालयले मात्र गर्न पाउने व्यवस्था छ । तर मेयर बस्नेतले आफूसँग नभएको अधिकार प्रयोग गर्दै सरकारी कर्मचारीलाई तलब रोक्ने चेतावनी दिनु पनि अख्तियार दुरुपयोग नै भएकाे देखिन्छ ।
यता बिहीबार मेयर श्रेष्ठका दाजु सांसद मोहनबहादुर बस्नेतविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाे छ । अख्तियारले बस्नेतविरुद्ध टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको हो । मेयर बस्नेतले दाजुलाई अख्तियारले मुद्दा दायर गरेकै कारण अख्तियारमा कार्यरत कर्मचारीलाई यस्तो चेतावनी दिएको हुन सक्ने स्रोतले जनाएको छ ।