लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर: विश्व बैङ्क
Mayorsap
शुक्र, जेठ ३, २०८२ | १२:४२ बजे

एजेन्सी । लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठूलो परिवर्तन देखिएको विश्व बैङ्कको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन थालेका छन् भने धेरै श्रमिकहरू जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् ।
सन् २०२५ को जनवरीदेखि फेब्रुअरीसम्म गरिएको विश्व बैङ्कको ताजा सर्वेक्षणअनुसार लाओसमा रोजगारी दर क्रमिक रूपमा बढिरहेको छ । जनवरी सन् २०२५ मा काम गर्ने व्यक्तिहरूको प्रतिशत ९७.१ पुगेको थियो जुन सन् २०२४ मा ९४.४ प्रतिशत र मे सन् २०२२ मा ८८.२ प्रतिशत थियो ।
प्रतिवेदन अनुसार लाओसको मुद्रास्फीति दर घट्दै गएको छ । सन् २०२५ को जनवरीमा मुद्रास्फीति १५.५ प्रतिशतमा झरेको थियो, जुन डिसेम्बर सन् २०२४ मा १६।९ प्रतिशत थियो । अप्रिलसम्म यो दर ११.१ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।
तर, विगत केही वर्षको निरन्तर मूल्यवृद्धिका कारण धेरै परिवारहरू अझै पनि आर्थिक रूपमा कमजोर अवस्थामा छन् । धेरै नागरिकले विदेशमा रोजगारी खोज्ने क्रम जारी राखेका छन्, जहाँ उनीहरूले तुलनात्मक रूपमा राम्रो आम्दानी पाउने आशा राखेका छन् ।
उच्च मुद्रास्फीति विशेषगरी न्यून आय भएका परिवारमा गहिरो प्रभाव पारिरहेको छ । खाना लगायतका आवश्यक वस्तुहरू महँगा भएपछि धेरै परिवारले बचत खर्च गर्न, पशु बेच्न वा ऋण लिन थालेका छन् ।
यसकै असर स्वरूप केही परिवारले स्वास्थ्य र शिक्षा खर्चमा कटौती गर्न थालेका छन्, जसका कारण गरिब परिवारका बालबालिका विद्यालय बाहिर रहने सम्भावना बढेको छ ।
लाओसको केन्द्रीय बैङ्कले सन् २०२५ भित्र एक अङ्कको मुद्रास्फीति दर हासिल गर्ने लक्ष्यसहित आर्थिक तथा वित्तीय चुनौतीहरूसँग जुध्न सक्रिय उपायहरू अपनाउने जनाएको छ ।