दमक नगरपालिकाका पूर्व प्रमुख बुढाथोकीको निधन
बुढाथोकीको निधनप्रति दमककी उपप्रमुख रेगना भट्टराई प्रसाईंद्वारा समवेदना व्यक्त
Mayorsap
शुक्र, जेठ ३, २०८२ | १४:५५ बजे
झापा । दमक नगरपालिकाका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो ।
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ ।
पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छिन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेकी छिन् ।