इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चबाट सदर


काठमाडौं । सर्वाेच्च अदालतले सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई थुनामै राख्ने आदेशलाई निरन्तरता दिन आदेश दिएको छ । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी उनी सर्वोच्च अदालत गएकोमा सर्वोच्चले शुक्रबार कानूनबमोजिम गर्नू भनी आदेश दिएको हो ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो । उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो ।
उनी सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छन् ।