सीमा अपराध नियन्त्रण गर्न डिआईजी चतुर्वेदीको निर्देशन


वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाले पछि पहिलो पटक जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जको निरीक्षण पछि सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राले उनको स्वागत गरेका थिए। डिआईजीले मुदा फाँट, अनुचित लेनदेन शाखा, उजुरी शाखा, हिरासत व्यस्थापन शाखा, सिसी टिभी कक्ष, सुचना संकलन शाखा समेतको निरिक्षण गरेका छन्।
निरिक्षण पश्चात पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रासहित जिल्लाभरिका प्रहरी युनिट प्रमुखहरूलाई एक ठाउँमा राखेर विभागीय नीति अनुसार सिमा अपराध, आपराधिक गतिविधि विभिन्न सामानको तस्करी नियन्त्रण गर्न र कानुन विपरीत कुनै पनि काम नगर्न डिआईजी चतुर्वेदीले कडा निर्देशन दिएको एसपी मिश्रले जानकारी दिए ।
मधेश प्रदेशको आठवटै जिल्लामध्य पर्सा अति संवेदनशिल जिल्ला रहेकाले चुस्त दुरुस्त रुपमा शान्ति सुरक्षा कायम राख्न तथा सीमाको निगरानीमा विशेष ध्यान दिन निर्देशन दिएका थिए। केही दिन अघि पर्सा प्रहरीले एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु र सानो अवधिमा करोडौंको अवैध सामान बरामद गर्न सफल भएकोमा डिआईजी चतुर्वेदीले एसपी मिश्रको प्रशंसा समेत गरेका थिए।
डिआईजी चतुर्वेदीले यस अघि जिल्ला प्रहरी कार्यालय रौतहट र सर्लाहीको निरीक्षण गरिसकेका छन् भने आज जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्ने योजना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।