बालेनलाई गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी नहुने जनप्रतिनिधिलाई अबदेखि समितिमा नराख्न निर्देशन दिएका छन् । समितिको बैठकमा मेयर साहलाई नदेखेपछि उनी उपस्थित नभएकोबारे चासो राख्दै प्रधानमन्त्रीले अबदेखि साहको नाम नराख्न भनेका हुन् ।
बैठकमा प्रधानमन्त्रीले साहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि अनुपस्थित हुनु राम्रो नभएको समेत बताए । उनले भने, ‘यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको पनि उपस्थिति हुनुपर्छ । तर कुनैपनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन । आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ । उहाँ नआउने हो भने अबदेखि नाम नराख्नु ।’
मूल समितिको बैठक सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको थियो । उक्त बैठकमा काठमाडौंका मेयर साह अनुपस्थित थिए । बैठकमा उपमेयर सुनिता डंगोल भने सहभागी थिइन्।