शिक्षक महासंघले भन्यो– सरकार इमानदार देखिएन, आन्दोलनका लागि शिक्षकहरु तयार रहनुहोला


काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकसँग भएको सहमतिप्रति राज्य जिम्मेवार र इमानदार नभएको आरोप लगाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गरी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ । महासंघले शिक्षक आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रस्तावित विधेयक भन्दा पनि प्रतिवेदन पश्चगमनतर्फ उन्मुख रहेको जिकिर गरेको छ ।
अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायीरकरार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षालगायत) का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमति बमोजिम नभएकोमा महासंघको आपत्ति छ ।
शिक्षकको सरुवा आम शिक्षकको भावना विपरीत प्रस्तावित गरिएको, जिल्लामा शिक्षाको एकाइ हटाएर शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमान माथि प्रहार गरिएको र विभागीय कारवाहीको प्रबन्धमा कुनै सुधार नगरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षक कर्मचारीको पेसागत ट्रेड युनियन अधिकारको उपयोगमा समेत कठोर प्रहार गरिएको र प्रतिवेदनमा प्रस्तावित प्रबन्धहरूले विद्यालय तहको शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाएर उत्कृष्ट जनशक्ति यस पेसामा आकर्षित गर्नुको विपरीत यो पेसाप्रति झन् वितृष्णा बढाउने निश्चित देखिएको महासङ्घको निष्कर्ष छ ।
राज्यले आफूहरूलाई पुनः आन्दोलन गर्न उक्साएको पनि महासंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजोका आन्दोलन र सरकारसँग भएका सहमति बिर्सेर तयार गरिएको यो प्रतिवेदनले नेपाली शिक्षक–कर्मचारीलाई झन् आक्रोशित गराएको छ । राज्य पक्ष फेरि शिक्षक कर्मचारी आन्दोलनलाई निम्ता दिन चाहन्छ भन्ने अनुभूति गराएको छ ।’ महासंघले विगतका सहमति कार्यान्वयन नभए अझै ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ ।