Ad Image

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको चेतावनी

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rajendra ling.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अबको आन्दोलनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने दाबी गरेका छन् । आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले अबको आन्दोलन निर्णायक हुने प्रधानमन्त्रीलाई समेत भाग्न बाध्य बनाउने चेतावनी दिएका हुन् । 

उनले प्रधानमन्त्री भाग्न नसक्ने भए भाग्नका लागि हेलिकोप्टरको सुविधा प्रयोग गर्न भने छुट दिने तर आन्दोलन नरोक्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’

अध्यक्ष लिङ्देनले आन्दोलनमा आउनेले घरमा ताला लगाएर भएपनि परिवार नै उपस्थित हुन आग्रह गरेका छन् । उनले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए । उनले भने, ‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन ।’ आन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि आग्रह गर्ने उनको भनाइ छ ।