नाम्खाको तिलगाउँमा तत्काल राहत र उद्धारका लागि पहल गर्न सरकारसँग सांसदहरुको माग


काठमाडौं । सांसदहरुले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका लागि पहल गर्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्नका लागि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिरोका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे । “पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्,” उनले भने ।
सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गरे। सांसद डा स्वर्णिम वाग्लेले तनुहँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताउनुभएको छ ।
सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधरणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताए। सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।