कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष चौधरी आज आफैं प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
अध्यक्ष चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।
रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर पक्राउ पुर्जी जारी भएसँगै अध्यक्ष चौधरी फरार भएका थिए ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।
चौधरीमाथि पालिका भित्रकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ ।