प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला नखोलेको विषयमा राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत चैत २१ गते आफूलाईं कार्यालयमा हाजिर हुन जाँदा रोकिएको विषयमा पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।
उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध गरेको विषयमा पाण्डेमाथि ७ बुँदे स्पष्टीकरण सोधिएको छ ।
स्पस्ष्टीकरण सोधिएको पत्रमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको उल्लेख गरिएको छ ।
पत्रमा स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्त बुझ्दो नभए कानुनबमोजिम कार्बाही अघि बढाउने चेतावनी समेत दिइएको छ ।
काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा हाजिर हुन महानगर पुगेका गुरागाईंलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो।