नागढुंगा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । अब दिउँसो पनि बन्द गरी सडक निर्माणको काम गर्न लागिएको हो । यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०स्३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए।
आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए।
नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना जारी गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।