Ad Image

म्याग्दीमा ‘लिंगो जुधाउने’ अनौठो परम्परा

User Image Mayorsap | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lingo-judhaune-magdi.jpg

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिंगो जुधाउने’ प्रतियोगिता भएको छ । भूमेपूजापछि लिंगो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् ।

मंगलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ । प्रतियोगिता मुन्का डाँडामा भएको थियो । सयौँ स्थानीय सहभागी प्रतियोगितामा भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए ।

पुख्र्यौली सोरठी भाका र नाचका साथै पञ्चेबाजासहित भूमेपूजाको लिङ्गो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए । मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिङ्गो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेको वडाध्यक्ष गर्बुजाले बताए ।

मंगलबार बिहान भूमेपूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिंंगो जुधाएका हुन् । प्रतियोगितामा सिँगारिएका अग्ला बाँस जुधाइन्छ । प्रकृति पूजाका रूपमा मगर समुदायले भूमेपूजालाई महत्व दिँदै आएका छन् । दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो  मंगलवारका दिन बाढीपहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमेपूजा गर्दै आएका छन् ।