नवनियुक्त गभर्नर विश्व पौडेल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ। बुधबार बिहान अर्थ मन्त्रालय पुगेर नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।
गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।