‘जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारीता हुनुपर्छ’


झापा । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गर्दै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारीता भए विकासमा कुनै अवरोध नआउने बताए । “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाई दिन्छु”, उनले भने ।
हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन बताए । यससँगै भुसुडी खोलामा थप दुई वटा पुल निर्माण सम्पन्न हुन लागेको उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद भएको बताए । गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउँदै उनले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गरे ।
हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुई वटा रु चार करोड ९६ लाख ८५ हजार ९२८ को लागत निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए ।
आज भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत रु दुई करोड ३० लाख रहेको छ भने लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो । गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको उनले बताए ।
पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ वासीको सिधा सम्पर्क भएको छ भने वडा नं ५ र १ का हजारौँ स्थानीयवासी लाभान्वित भएको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए ।
वर्षायाममा आवतजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।