कैलालीकाे गोदावरी नगरपालिमा स्मार्ट बत्ती जडान सुरु


धनगढी । मोहनापुल–अत्तरिया ६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्र पनि अब झिलिमिली बन्ने भएको छ । गोदावरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सडकमा स्ट्रिट लाइट र हाई मास्ट लाइट जडानको काम सुरु गरिएको हो ।
सूर्योदय ऊर्जा प्रालिले मनहरा पुलदेखि ट्राफिक चेकपोस्टसम्म १८३ वटा स्ट्रिट लाइट तथा २ स्थानमा हाई मास्ट लाइट जडान गर्नेछ । सडकको मिडियन भागमा २८ मिटरको दूरीमा पोल राखिनेछ। बिहीबारदेखि पोल खन्ने कार्य सुरु भइसकेको छ ।
गोदावरी नगर प्रमुख वीरेन्द्र भट्टले आलोचनाको बीचमा दुई महिनाभित्र सडक क्षेत्र झिलिमिली बनाउने लक्ष्य रहेको बताए । नगर इन्जिनियर पूर्ण कुँवरका अनुसार २ करोड ३४ लाखको लागतमा भइरहेको यो योजनाको ६ महिनाको ठेक्का अवधि भए पनि दुई महिनामै काम सक्ने तयारी छ ।
नगरपालिकाले १ करोड ५२ लाख खर्च गर्नेछ भने बाँकी रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नेछ। प्राविधिक निगरानी पनि नियमित गरिने जनाइएको छ ।