डोटीमा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम, कुन स्थानीय तहमा कुन बाली ?


डोटी । आगामी आर्थिक वर्ष २०८२/८३ मा डोटी जिल्लामा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले शनिबार संयुक्त कार्यक्रम आयोजना गरी आगामी वर्ष जिल्लामा उक्त कार्यक्रम लागू गर्ने योजना बनाइएको जानकारी दिएका हुन् ।
प्रदेश सरकारबाट यस्तो कार्यक्रम राख्न भनिएपछि डोटीका नौ वटै पालिकामा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । केही दिन पहिला यस विषयमा जिल्लास्थित सरोकार भएकासँग छलफल गरेपछि कुन कार्यक्रम राख्ने भनी पालिकाहरूलाई पत्राचार गर्न लगाएर सोही अनुसार आज निर्णय गरिएको उनले जानकारी दिए ।
उनका अनुसार सानो लगानीमा धेरै कार्यक्रम समेट्दा कृषिमा सकारात्मक प्रतिफल नदेखिएकाले एउटै कार्यक्रममा बढी लगानी गर्दा प्रतिफल उल्लेख्य देखिने हुँदा यस्तो कार्यक्रम ल्याउने योजना बनाइएको हो ।
सोहीअनुसार कृषितर्फ दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकामा तरकारीखेती, शिखर नगरपालिका र आदर्श गाउँपालिकामा फलफूलखेती, पूर्वीचौकी गाउँपालिकामा भटमास, सायल गाउँपालिकामा आलु, बोगटान फुड्सिल गाउँपालिकामा बेसार र अदुवा (मसला बाली), जोरायल गाउँपालिकामा बासमती धान र बडीकेदार गाउँपालिकामा सुन्तला जातका फलफूलखेती कार्यक्रम लागू गरिने छ ।
भेटेरिनरीतर्फ दिपायल–सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा भैँसीपालन र आदर्श, सायल, बोगटान फुड्सिल, जोरायल र बडीकेदार गाउँपालिकामा बाख्रापालन कार्यक्रम लागू गरिने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए । उनका अनुसार उल्लिखित कार्यक्रमका लागि बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्ने छ ।