युवतीलाई जिस्काएपछि महायज्ञमा झडप, पेस्तोलसहित २ जना पक्राउ


रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा जारी महायज्ञका क्रममा युवतीलाई जिस्क्याएको विषयलाई लिएर भएको झडपमा एक जना घाइते भएका छन् ।
शनिबार राति करिब १२ बजे स्थानीय र मोहसड गाउँबाट आएका युवाबीच कुटपिट हुँदा लुम्बिनी प्रदेशसभा सदस्य कन्यैया बानियाका स्वकीय सचिव विक्रम सिंह घाइते भएका हुन्। उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीले मोहसडका कमरउद्दिन मुसलमान (२७) र रोशन अलि फकिर (२६) लाई पक्राउ गरेको छ । उनीहरूकै साथबाट गोली नभएको एकथान कटुवा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महायज्ञमा पछिल्ला दिनहरूमा विवाद गर्ने समूह सक्रिय थियो। हाल स्थिति सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।