नवराजपुर पालिकाका पूर्वअध्यक्ष/उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजय प्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादव पनि मुछिएका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको अख्तियारले जनाएको छ ।
गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । सो भवन अहिले उपयोगविहीन भएको अख्तियारले जनाएको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सब इन्जिनियर र लेखापालविरुद्ध ३४ लाख ३९ हजार १८९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअनुसार कैद र जरिवानाको माग दाबी गरेको छ। उपभोक्ता समितिका पदाधिकारीविरुद्ध पनि ३३ लाख ३४ हजार १८९ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदार सरह सजायको माग गरिएको छ। अन्य पदाधिकारीविरुद्ध गलत प्रतिवेदन दिएको कसुरमा सजाय मागिएको छ।
अख्तियारले दायर गरेको आरोपपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्