अदालतबाट सफाइ पाएपछि जेलबाट रिहा भए अफताब आलम


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएपछि आलम नख्खु कारागारबाट छुटेका हुन् । बुधबार उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।
यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । उनीमाथि बम बिस्फोटपछि घाइते भएका व्यक्तिहरुलाई इँट्टा भट्टामा जिउँदै हालेर जलाएको आरोप थियो । विधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।
आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए। त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।
उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। पटकपटक सांसद र मन्त्री भएका आलमले शक्तिका आडमा घटना ढाकछोप गर्ने भरमग्दुर प्रयास गरेका थिए। बम विस्फोटको घटनाका धेरै प्रमाण नष्ट पारिसकेका थिए। उक्त घटनापछि नै उनी रौतहट क्षेत्र नम्बर २ बाट दुईपटक सांसद र एकपटक श्रम तथा यातायात मन्त्री भइसकेका थिए।