इजरायली आक्रमणमा हुथी नियन्त्रित विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त


साना । इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् ।
हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण गरेको जनाएको छ । साना विमानस्थलका निर्देशक खालिद अल–शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम उडान विमान भएको बताएका छन् ।
हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजमा आक्रमण गर्दै आएका छन् । हुथीको आक्रमणको बदलामा इजरायलका साथै संयुक्त राज्य अमेरिका र बेलायतबाट प्रतिशोधात्मक हमला भइरहेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जल लडाकू विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । उनले भने, “एयर फोर्सका जेटविमानले सानाको विमानस्थलमा हुथी आतङ्कवादी सङ्गठनको आतङ्ककारी लक्ष्यमा आक्रमण गरेका छन् र बाँकी रहेका अन्तिम विमानलाई ध्वस्त पारेका छन् ।
इजरायली सेनाले जारी गरेको वक्तव्यमा हुथी आतङ्कवादी सङ्गठनले इजरायली राज्यविरुद्ध आतङ्कवादी हमला गर्ने आतङ्ककारीहरूको स्थानान्तरणका लागि त्यहाँको विमान प्रयोग गरेको उल्लेख गरिएको छ ।
यमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो विमानमा साउदी अरबको मक्कामा वार्षिक हज यात्राका लागि जाने मुस्लिम हजयात्रीहरू लान उडानको तयारीका लागि विमानस्थलमा रहेको थियो।”