बजेट आज सार्वजनिक हुँदै, १९ खर्ब बराबरको आउने


काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ ।
अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्वजनिक गर्न लागेको हो । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।