बाढी पीडितलाई सहयोग गर्दा अख्तियारले दुःख दिइरहेको छ : चिरीबाबु महर्जन


पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यमा स्थानीय तहलाई संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा बुधबार आयोजित जिल्ला विपद् व्यवस्थापन समितिको बैठक र मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना छलफलमा उनले विपद्को समयमा एउटा स्थानीय तहले मात्रै केही गर्न सक्दैन भन्दै प्रतिकार्य, राहत र उद्धार कार्यमा संघ, प्रदेश र संघसंस्थाको पनि सहयोग आवश्यक रहेकामा जोड दिए ।
“गत वर्षभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ, त्यसलाई ध्यान दिएर तयारी गर्नु पर्नेछ । गत असोज ११ र १२ को पानीले दक्षिणी भेगमा धेरै क्षति पु¥यायो, यस वर्ष हामीले सचेततापूर्वक तयारी गर्नु आवश्यक छ”, महानगर प्रमुख महर्जनले भने ।
उनले विपद्को समयमा कतिपय कानुनी व्यवस्था सम्बोधन गर्न कठिनाइ हुने हुँदा काम गर्न असहज हुने गरेको बताए । “कतिपय कानुनी प्रबन्ध पूरा गर्न सकिँदैन, कमीकमजोरी हुन्छ, यो समस्या हो, २०७८ सालमा बाढीपीडितलाई गरेको सहयोगका कारण अहिले पनि अख्तियारले दुःख दिइरहेको छ, हामीले यसमा पनि ध्यान दिनुपर्ने अवस्था छ”, प्रमुख महर्जनले भने ।
महानगर प्रमुख महर्जनले विपद्का समयमा परिचालनका लागि ललितपुर महानगरसँग छवटा दमकल, एम्बुलेन्सलगायत सामग्री तयारी अवस्थामा रहेको जानकारी दिँदै छिमेकी स्थानीय तहलाई विपद्को समयमा सहयोग गर्न तत्पर रहेको बताए ।