विपक्षीले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न मात्र दिने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत विपक्षी दलहरुले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरुले आजको बैठक सञ्चालन गर्न सहमत भएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद आसनबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय उपलब्ध गराएका थिए ।
प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट पेस गर्नका लागि मात्रै आफूहरुले सदनमा अवरोध नगरेको अवगत गराउँदै उक्त विषय निरुपण नभएसम्म आगामी बैठकमा विरोध जारी रहने बताए ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । अर्थमन्त्री पौडेलले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए ।
मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।