सरकारले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर सुधार गर्ने


काठमाडौं । सरकारले थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार गर्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ मा भनिएको छ, “गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर ०.३६ प्रतिशतले सड्डुचन भएकामा चालु आर्थिक वर्षमा ३.३० प्रतिशतले वृद्धि हुने अनुमान छ ।”
सर्वेक्षणमा भनिएको छ, “गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको योगदान १४ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष १४.५५ प्रतिशत रहने अनुमान छ । पछिल्लो दशक यस क्षेत्रको औसत वृद्धिदर ३.५० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा औसत योगदान १५.०७ प्रतिशत रहेको छ ।”
चालु आर्थिक वर्ष यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुने सरकारको अनुमान छ । “सवारी साधनको आयात र पर्यटक आगमनमा भएको वृद्धिका कारण चालु आवमा यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि ९.४५ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आवमा समेत उल्लेख्य वृद्धि भई यस्तो वृद्धिदर १३।४३ प्रतिशत रहेको थियो । विगत दश वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको औसत वृद्धिदर ४.६६ प्रतिशत रहेको छ”, सर्वेक्षणमा उल्लेख छ ।
चालु आवमा कुल गार्हस्थ्य उत्पादनमा आवास तथा भोजन सेवा क्षेत्रको योगदान २.४६ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान २.४० प्रतिशत थियो । पछिल्लो दशक यस क्षेत्रको योगदान वार्षिक औसत २ प्रतिशत र वृद्धिदर ५.८१ प्रतिशत छ ।
कम्प्युटर प्रोग्रामिङ तथा सूचना सेवाका क्रियाकलापमा भएको वृद्धि र इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चारमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा समेत सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने सरकारको अनुमान छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.९१ प्रतिशतले वृद्धि भएकामा चालु आवमा यस्तो वृद्धिदर ४.८१ प्रतिशत रहने अनुमान छ । चालु आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.९४ प्रतिशत रहने अनुमान छ ।
गत आर्थिक वर्षमा समेत यस्तो योगदान १.९४ प्रतिशत रहेको थियो । पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत २.२० प्रतिशत र वृद्धिदर ४.८३ प्रतिशत रहेको छ ।