Ad Image

अर्कैको नाममा लाइसेन्स बनाउने ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/special court.jpeg

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा रुपन्देही र दाङका ४ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियारको अनुसन्धान अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ की सभ्यता केसीले विधिवत प्रक्रिया नअपनाई अर्कै व्यक्तिको (Applicant ID 8401685) प्रयोग गरी Category B- Car, Jeep, Delivery Van लाइसेन्स प्राप्त गरेकी हुन् । उनले लिखित वा ट्रायल परीक्षा नदिई कर्मचारीहरूसँग मिलेमतो गरी ईडीएलभीआरएस प्रणालीमा विवरण हेरफेर गराएर गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र जारी गराएकी थिइन् ।

यस कार्यमा यातायात व्यवस्था कार्यालय, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डे, तथा दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर संलग्न रहेको प्रमाण फेला परेको छ । उनीहरूले योजनाबद्ध रूपमा सरकारी प्रणालीको दुरुपयोग गरी झूटो विवरण प्रविष्ट गरेर प्रमाणपत्र जारी गराएका थिए ।

यस्तो कार्यबाट Applicant ID जस्तो एकपटक मात्र जारी हुने अद्वितीय सरकारी अभिलेखसमेत परिमार्जन गरी गलत लिखत तयार गरिएको अख्तियारले जनाएको छ । यस्ताे कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अनुसार दण्डनीय हुने भन्दै सम्बन्धित सबै प्रतिवादीमाथि अख्तियारले कारबाहीकाे माग गरेकाे छ ।

त्यस्तै, प्रतिवादी सभ्यता केसीलाई ऐनको दफा २२ अनुसार मुख्य कसुरदारसरह सजाय दिनुपर्ने मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।