Ad Image

बजेटले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ: महासचिव पोखरेल

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shankar-pokhrel.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको छ । 

नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्रको सङ्कट समाधानतर्फ केन्द्रित हुनुका साथै निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए । 

महासचिव पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीचको समन्वय र सहकार्य जुन हिसाबले हुनुपर्ने, त्यो भने हुन नसकेको बताए । “अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो । अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी देखिएको छ”, उनले भने। 

महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेकामा जोड दिए । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उनले भनाइ छ । 

अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको उनले  बताए ।

महासचिव पोखरेलले पुँजी बजारले नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उल्लेख गर्दै पुँजी बजारलाई अस्वाभाविक रूपमा उतारचढाव ल्याउन  अनौपचारिक अर्थतन्त्रले काम गरिरहेको बताउनुभयो । नेपालमा शासकीय क्षमतालाई प्रवर्द्धन गर्न कानुनमा सुधार आवश्यक रहेकामा उनले जोड दिए।

“हरेक निकायले कानुन सुधारमा जोड दिनुपर्ने छ । ती सेवाप्रवाह र सुशासनमुखी हुनुपर्ने छ । नेपालमा बनेका कानुन यस्ता छन्, जो विकासमैत्री छैनन्, सेवामैत्री छैनन”, उनले भने ।  महासचिव पोखरेलले देश निर्माणको लागि प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको बताउए। 

समयमा कार्यसम्पादन नहुनाले नेपालमा भ्रष्टाचार बढ्दै गएको महासचिव पोखरेलको भनाइ छ । उनले कुनै पनि काम ढिलो हुँदै जाँदा त्यसको लागत बढ्ने र त्यहाँ भ्रष्टाचार र कमिसनको चक्कर चल्ने सम्भावना रहने भन्दै सेवाप्रवाह पारदर्शी र शीघ्र सम्पादन हुनुपर्ने उनले उल्लेख गरे।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बजेट जनमुखी भएको भन्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरोकार भएका सबैलाई आग्रह गरे। उनले बजेटले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।