Loading...
Ad Image

वैदेशिक रोजगारमा ठगिएका मजदुरलाई निःशुल्क कानुनी सेवा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kanuni.jpg

भोजपुर । वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।  

कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताए । विगतमा यहाँका चारवटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको  छ । 

यहाँका आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी परामर्श, वैदेशिक रोजगारीका सिलसिलामा ठगिएकालाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका तथा मृत्यु भएकाहरूलाई क्षतिपूर्तिका लागि पहल गरिदिनेलगायतका काम  भइरहेको छ ।

त्यस्तै विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको  जनाइएको छ । सरकारको ७० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाएर आयआर्जनमा वृद्धि गर्दै भविष्यमा सहज जीविकोपार्जनका लागि कार्यक्रमले टेवा पुर्याएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए । वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले यसलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक रहेको  उनको भनाइ छ । 

जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रबाट  ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिलालाई  सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको जनाइएको छ । जिल्लाबाट गत आर्थिक वर्षमा  सात हजार २४२ जना वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ ।