उदयपुरका ग्रामीण सडक पहिरोले अवरुद्ध, यातायात ठप्प

.jpg)
उदयपुर । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए ।
शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उनले भने । रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगर बताउँछन् ।
रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताए ।
निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पा बताउाछन् । मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ ।
उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गङ्गा मगरले बताए ।
बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका जानकारी उनले दिए ।