बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क आवासीय शिक्षा


बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि गण्डकी प्रदेशकै एक मात्र आवासीय विद्यालय हो। विद्यालयले चारदेखि १८ वर्षसम्मका बालबालिकालाई एकदेखि पाँच कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।
विसं २०४३ मा स्थापना भएको विद्यालयमा हाल कास्की, पर्वत, म्याग्दी र बागलुङका ३५ विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २२ जना होस्टेलमा बस्छन् भने १३ जना घरबाटै आउजाउ गर्छन्। बौद्धिक अपाङ्गता भएका बालबालिकाको पालनपोषण, शिक्षा तथा संरक्षणको जिम्मा विद्यालयले लिँदै आएको छ।
विद्यालयका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीका अनुसार सामाजिक सङ्घसंस्थाको सहयोगमा विद्यार्थीका लागि खानपान, लत्ताकपडा र होस्टेल व्यवस्थापन भइरहेको छ। विद्यालयमा तीन शिक्षक र तीन कर्मचारी कार्यरत छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले भने, “अभिभावकले पूरै जिम्मा विद्यालयलाई सुम्पने गरेका छन्, दैनिक सरसफाइदेखि लत्ताकपडा व्यवस्थासम्मको जिम्मेवारी कर्मचारीले नै बहन गर्नुपरेको छ।”
विद्यालयको भवन विर्टिस वेलफेयरले र होस्टेल प्लान नेपालले निर्माण गरेका हुन्। हाल विद्यालय भौतिक पूर्वाधार अभावमा रहेको र अझ सहयोगको आवश्यकता रहेको जनाइएको छ।