Loading...
Ad Image

प्राङ्गारिक मल उत्पादनमार्फत डढेलो नियन्त्रण र रोजगारी

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prangadhik-1.JPG

दाङ । दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले वन क्षेत्रमा खेर जाने पातपतिङ्गर र गोबरलाई सदुपयोग गरी प्राङ्गारिक मल उत्पादन थालेपछि डढेलो नियन्त्रणमा सहयोग पुगेको छ ।

गत वर्षदेखि थालिएको मल उत्पादन कार्यले सुक्खा मौसममा पनि वन क्षेत्रमा आगलागी हुन नदिएको वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । उनले मल उत्पादनलाई आम्दानी र वन संरक्षणसँग जोडिएको कार्यको रूपमा अघि बढाइएको जानकारी दिए ।

वनमा जलेर नष्ट हुने पातपतिङ्गर प्रयोग गरी मल उत्पादनसँगै सात जना स्थानीयले रोजगारी पाएका छन् । उत्पादन भएको मल हाल समूहले सञ्चालन गरेको हरित पार्कमा बिरुवा हुर्काउन प्रयोग भइरहेको छ ।

सामुदायिक वन अध्ययन केन्द्रको सहयोगमा मल उत्पादनका लागि आवश्यक औजार प्राप्त भएपछि यो कार्य सुरु गरिएको हो । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले अजम्बरी वन समूहको कार्यलाई नमूना प्रयासको रूपमा प्रशंसा गरे ।

वन संरक्षण, पर्यटन प्रवर्द्धन र आयआर्जनलाई एकसाथ जोड्ने यो प्रयासले सामुदायिक वनहरूको बहुआयामिक उपयोगको उदाहरण प्रस्तुत गरेको छ ।