आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान


गण्डकी । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आग्रह गरेको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले वार्ताका लागि आह्वान गरे पनि व्यवसायीहरू अनुपस्थित भएको जनाएको हो ।
वार्ता समितिका संयोजक एवं सचिव कमलकुमार अधिकारीले नियमावलीमा छलफल गर्न सकिने तर खारेज नहुने स्पष्ट पारे । मन्त्रालयका उपसचिव प्रेम सुवेदीले नियमावली बनाउने विषयमा व्यवसायीहरूसँग अघिल्लो चरणमै छलफल भइसकेको बताए ।
महासंघले सात बुँदे मागसहित वार्ताबाट टाढा रहँदै आइतबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेको छ । सोमबारदेखि देशभर बन्द गर्ने तयारीमा रहेका व्यवसायीको आन्दोलनका कारण यात्रुहरू प्रभावित भएका छन् । प्रहरीले केही यात्रुलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्याएको छ ।
व्यवसायी संयोजक केदार पौडेलले औपचारिक वार्ता नभए पनि संवाद भइरहेको बताए । उनले समान व्यवसायमा विभेद नगर्न माग गर्दै आफूहरू वार्ता तथा राइड सेयरिङविरुद्ध नरहेको प्रष्ट पारे ।