काठमाडौं मेयर बालेन र भुपदेवविरुद्ध ३५ एम्बुलेन्स खरिदमा भ्रष्टाचारको आरोप, अख्तियारमा उजुरी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1743938672.jpg

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहसँगै अन्य अधिकारीहरूमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।


मेयर बालेन्द्र शाह (बालेन) को प्रत्यक्ष निर्देशनमा भएको भनिएको ३५ वटा एम्बुलेन्स खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी परेको हो ।


सी–०४०५६९ दर्ता नम्बर भएको  उक्त उजुरीपत्रमा बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रममा योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिएको उल्लेख छ ।


साहले एम्बुलेन्स आपूर्ति गर्ने बोलपत्रदाता गाडी कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेको र उनले त्यसैअनुसार खरिद प्रक्रिया अघि बढाएको आरोप पत्रमा उल्लेख गरिएको छ ।


बोलपत्र दस्तावेज (बिड डकुमेन्ट) अनुसार सामान आएपछि मात्र भुक्तानी हुने प्रावधान हुँदाहुँदै पनि गाडी कम्पनीले सुरुमै भुक्तानी दिने सर्त राखेको र त्यसलाई महानगरले स्वीकार गरेर खरिद ऐन, २०६३ को दफा ५२(क) विपरीत कार्य भएको उजुरीमा उल्लेख छ।


ललितपुर महानगरबाट काठमाडौं सरुवा भएका रामरतन शाहलाई खरिद इकाइ प्रमुख बनाउन ठेकेदारहरूले तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारलाई घुस दिएको उजुरीमा आरोप लगाइएको छ ।


रामरतन शाहले गाडी घुसस्वरूप लिने शर्तमा मूल्याङ्कन प्रक्रिया फेरि दोहोर्‍याएर एक करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको आरोप छ।


उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(क) र ९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् । साथै, मूल्यांकन समितिमा बसेकालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।


आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको थियो ।


Facebook Comments