जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा
जनआन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेनालगायतको साथ


काठमाडौं। राजसंस्था पुनर्स्थापनका लागि गठित समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा सुवेदीले जनआन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेनालगायतको साथ रहेको जानकारी दिए । उनले आन्दोलन शान्तिपूर्ण हुने, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुने समेत जानकारी दिएका छन् ।
आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको र यसमा सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनको भनाइ छ । सुवेदीले जनआन्दोलनको बलमा उन्नत र प्रजातान्त्रिक प्रणाली स्थापित गर्ने दाबी समेत गरेका छन्। संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र स्थापना, केन्द्र र स्थानीय तहमा सरकार, बलियो स्थानीय तह बनाउनु पर्ने उनीहरूको एजेन्डा छ।
Facebook Comments