सभ्य बन्दै फागु पूर्णिमा : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

User Image Mayorsap | २०८१ फागुन २९ गते ०५:२४
Image of storage/news/1741853544.jpg

काठमाडौं  । काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लामा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा पर्व मनाइँदैछ। फागु पूर्णिमा मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ।


केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो। रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो।


विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौंमा फागु पूर्णिमा पर्व अनुशासित भइरहेको देखिन थालेको छ। फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन।


सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाए। घरपरिवार एवं छरछिमकीसँग फागु खेले। टीका लगाइदिए। खुसी साटासाट गरे। आपसी सौहार्दता बढाए।


फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा ९होली० पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ।


केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो। केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ। सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए। बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन्।


गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ। जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन्।


विशेषगरी लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै युवतीलाई छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका छन्।


Facebook Comments