कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंह पक्राउ


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका राप्रपाका सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंहसँगै प्रवक्ता मोहनकुमार श्रेष्ठ पनि परिसरमा पुगेका थिए । प्रहरीले श्रेष्ठलाई बाहिर पठाई सिंहलाई केही सोधपुछ गर्ने भन्दै नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सांसद सिंहलाई सोधपुछका लागि राखिएको हो ।
यसअघि निषेधित क्षेत्र तोड्ने प्रयास गरेको आरोपमा अध्यक्ष थापासहित ७ जना पक्राउ परेका थिए । सिंहको पक्राउसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।