शिवनाथ गाउँपालिकामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने


बैतडी । शिवनाथ गाउँपालिकामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । प्राविधिक धारतर्फ उच्चशिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले भने, “गाउँपालिकाभित्रका विपन्न छात्रछात्राको प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । यो वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि सूचना आह्वान गरेका छौँ ।”
गत वर्षदेखि चिकित्सा, इन्जिनियर तथा प्राविधिक विषयमा विपन्न छात्रछात्राको पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति दिने गरिएको छ । यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि गाउँपालिकाले सूचना आह्वान गरेको छ । प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गरिरहेका र शिवनाथ गाउँपालिकाभित्र घर भएका विपन्न छात्रछात्राका लागि आवेदन आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
शिवनाथ गाउँपालिकाले शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ निर्माण गरेको र सोही अनुसार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ । छात्रवृत्तिका लागि गाउँपालिकाले यस वर्ष रु चार लाख विनियोजन गरेको छ । गत वर्ष छात्रवृत्तिका लागि रु पाँच लाख विनियोजन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन परेका विद्यार्थीमध्ये छनोट समितिले छनोट गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।