Loading...
Ad Image

धनगढीमाई नगरपालिकाले तिर्‍यो किसानको बिजुलीको एक करोड ६० लाख बढी पैसा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dhangadhimai-nagarpalika.jpg

सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रका किसानले खेतीपाती गर्न प्रयोग गरेको कृषि मिटरबापतको रु एक करोड ६० लाख ९८ हजार भुत्तानी गरेको छ । नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरी बक्यौता भुक्तानी गरेको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङका अनुसार नगर क्षेत्रका तीन हजार पाँच सय किसानले उपभोग गरेको कृषि मिटरको बिल विभिन्न कारणले तिर्न नसकेर रोकिएकाले एकैपल्ट तिर्दा बढी रकम भएको हो ।

“विभिन्न कारणले गर्दा यहाँका किसानले खेतीपाती गर्दा प्रयोग गरेको कृषि मिटरको बक्यौता रकम बढ्दै गएको थियो”, उनले भने, “यसअघि रु ५० लाख तिरिदिने गरी बजेट छुट्याइएको थियो । तर प्राधिकरणले पूरै बक्यौता रकम भुक्तानी गर्नुपर्छ भनेपछि केही ढिला भएको हो ।” विसं २०७९ साउनदेखि २०८१ माघसम्म दुई वर्ष सात महिनाको महसुल भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए । 

नगर क्षेत्रका किसानलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत कृषि मिटरको महसुल भुक्तानी गरेको नगरप्रमुख शिवशङ्कर महतोले बताए। आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा कृषि मिटरबापतको रु १८ लाख २२ हजार ६१४ तिरेको थियो ।