युक्रेनले गर्यो रुसविरुद्ध अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण, ४१ लडाकु विमान ध्वस्त पारेको दाबी


किभ । युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार युक्रेनले मुर्मान्स्कको ओलेन्या एयर बेस, इर्कुट्स्कको बेलाया एयर बेस, इभानोभोको इभानोभो एयर बेस र रुसको ड्यागिलेभो एयर बेसलाई निशाना बनाउँदै ४१ लडाकु बिमान नष्ट गरिदिएको दावी गरेको छ ।
रुसको बेलाया एयरबेस युक्रेनी सीमाबाट ४ हजार किलोमिटर टाढा छ । यो रूसको साइबेरिया क्षेत्रमा अवस्थित छ। रिपोर्टका अनुसार युक्रेनी सेनाले यो हमला गरेको थियो, जसमा फर्स्ट पर्सन भ्यू (एफपीभी) ड्रोन प्रयोग गरिएको थियो । जसले रूसको ए–५०, टीयू–९५ र टीयू–२२ जस्ता रणनीतिक बम वर्षक बिमानलाई निशाना बनाएको थियो ।
एक युक्रेनी सैन्य अधिकारीका अनुसार उनीहरूले आत्मरक्षाका लागि यो आक्रमण गरेका हुन । किनकि, यी रूसी विमानहरूले प्रायः युक्रेनी शहरहरूमा बम खसालिरहेका थिए। रुसले युक्रेनले गरेको आक्रमणबाट क्षति भएको स्विकार गरेको छ । प्रारम्भिक अनुमान अनुसार क्षतिको लागत २ अर्ब अमेरिकी डलर भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।
युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो। टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनका बीचमा दोस्रो चरणको वार्ता हुने जनाइएको छ। युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयू) ले आफ्नो ड्रोनले रुस भित्र धेरै टाढा गएर टियु–९५, टियु–२२ जस्ता ठूला बमवर्षक र ए–५० जस्ता महँगो जासुसी विमानलाई क्षति पुर्याएको दावी गरेको छ । जसमध्ये ए–५० विमान धेरै दुर्लभ बिमान हुन किनभने यो रूससँग मात्र १० विमानहरू छन्। एउटा विमानको मूल्य करिब ३५० मिलियन डलर रहेको बताइएको छ ।
रुसको इर्कुत्स्क क्षेत्रमा रहेको ‘बेलाया’ नामक एयरबेसलाई विशेषगरी यस हमलामा निशाना बनाइएको थियो । ‘ओलेन्या’ एयरबेसमा पनि आगलागी भएको खबर आएको छ तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।
टियु–९५ र टियु– १६० जस्ता विमानहरू पुराना हुन सक्छन् तर पनि तिनीहरू लामो दूरीसम्म उड्न सक्छन् र धेरै मिसाइलहरू बोक्न सक्छन्। यी रूसी वायु सेनाको सबैभन्दा शक्तिशाली हतियारमा गणना गरिन्छ। ति बिमानहरूको क्षति युक्रेनको लागि ठूलो उपलब्धि मानिएको छ । युक्रेनले पनि आफ्नो ड्रोन मिसन जारी रहने बताएको छ।
ओलेन्या एयर बेस रूसको मुर्मन्स्क क्षेत्रमा छ। त्यहाँका गभर्नरले शत्रुको ड्रोनले आक्रमण गरेको बताए तर उनले धेरै जानकारी साझा गरेका भने छैनन्। मिडिया रिपोर्टका अनुसार एसबीयूले यो आक्रमणको लागि करिब १८ महिनादेखि तयारी गरिरहेको थियो। उनले यो अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिएको थियो । यो मिसन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफैंले अनुगमन गरिरहेका थिए।
युक्रेनी सेनाले गोप्य रूपमा एफपीभी ड्रोन र काठको मोबाइल क्याबिनहरूमार्फत रूसमा गुपचुप लगेका थिए। यी ड्रोनहरू ट्रकको छाना मुनि लुकाइएको थियो, जसलाई टाढाबाट नियन्त्रण गर्न सकिन्थ्यो। जब आक्रमण सुरु भयो । ट्रकहरूको छाना खुल्यो र कामिकाजे ड्रोनहरू सीधा रूसी बम वर्षक बिमानतिर पठाइयो । युक्रेनले रुसमाथि आक्रमण गर्नुअघि ट्रम्प प्रशासनलाई पनि जानकारी दिएको बताइएको छ ।