नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदै


काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ। खेल आज दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो। सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन। जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।
स्कटल्याण्ड पछि नेपाल पर्सी बुधबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग–२ मा १२ खेलबाट ६ अंक जोड्दै तालिकाको अन्तिममा छ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी