शीर्ष नेताहरुबीच जुटेन सहमति, गृहमन्त्रीको राजीनामाबारे माओवादीको अडान यथावत्

काठमाडौं । संसद अवरोध हटाउनेबारे सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सहमतिमा नपुगि टुंगिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष माओवादी पछि नहटेपछि बैठकमा सहमति हुन नसकेको हो ।
सोमबार साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा छलफल भएको थियो । बैठकमा गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा राजीनामा नदिने भनेपछि संसद् खोल्न प्रतिपक्ष सहमत नभएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गृहमन्त्रीको राजीनामाको कुरा नउठाई संसद् खोल्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने कुरा प्रचण्डले दोहार्याएका थिए । जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो ।
संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । हामीले जो विषयवस्तु राखेका छौं । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रीत गरेर अघि राख्नुपर्छ भनेका छौं । जुनकुरा हामीले सदनमा राखेका छौं । त्यही विषयवस्तु हो, पाण्डले भने, भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं ।